Suvadin, Home

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त

सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। ज्ञवालीको कामकारबाहीमा चित्त नबुझेको भन्दै स्पष्टीकरण सोधेको थियो।
सुशील ज्ञवाली।

काठमाडौं, पुस २१


सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। ज्ञवालीको कामकारबाहीमा चित्त नबुझेको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले प्राधिकरण सिइओ ज्ञवालीलाई हटाइएकोबारे अाैपचारिक जानकारी भने दिएनन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदमा ज्ञवालीको स्पष्टीकरण चित्त नबुझेको भन्दै बर्खास्त गर्ने प्रस्ताव गरेका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार ज्ञवालीलाई प्रधानमन्त्री दाहालकै प्रस्तावमा बर्खास्त गरिएको हो। 

‘प्रधानमन्त्रीकै प्रस्तावमा ज्ञवालीलाई हटाइएको हो, प्रधानमन्त्रीले ज्ञवालीले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै प्रस्ताव ल्याउनुभएको थियो,’ एक मन्त्रीले शुभदिनसँग भने। 

बर्खास्त र नियुक्ति सँगसँगै गर्ने भनी प्रधानमन्त्रीले प्रस्ताव गरे पनि नियुक्तिबारे दाहालले केही नखुलाएको ती मन्त्रीले बताए। ‘यस्ता विषयमा औपचारिक जानकारी दिँदा बर्खास्तमा परेको व्यक्ति सिधै अदालत जाने भएकाले सूचना मन्त्रीले बाहिर नभन्नुभएको हो,’ मन्त्रिपरिषद स्रोतले भन्यो। 

एक साताअघि ज्ञवालीलाई सरकारले स्पष्टीकरण सोधेको थियो। पुस १४ गते स्पष्टीकरण सोध्दै कार्यशैलीमाथि प्रश्न सोझ्याएको थियो। सरकारले सोधेको स्पष्टीकरणको जवाफ बुझाउँदै बुधबार ज्ञवालीले सरकारकै सहयोग नपाएको गुनासो गरेका थिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले १२ पृष्ठ लामो आफ्नो स्पष्टीकरण प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियालाई बुझाएका थिए। ज्ञवालीले दिएको स्पष्टीकरणमा सरकारले असहयोग गरेका कारण आफूले समयमा काम गर्न नसकेको उल्लेख गरिएको थियो।

जनशक्ति माग भएकोमा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेको र बजेट समयमै उपलब्ध गराउन अर्थ मन्त्रालय तयार नहुँदा काममा ढिलाई हुन गएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा पनि कार्य सम्पादनमा ढिलाई हुँदै आएको स्पष्टीकरण दिँदै आएको छ। ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

को हुन् ज्ञवाली?

ओली सरकारले गत वर्ष पुस १० गते ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको थियो। ज्ञवाली सिभिल इन्जिनियर हुन्। 

ज्ञवाली आधुनिक बुटवल निर्माणका आर्किटेक्ट मानिन्छन्। पाल्पाका ज्ञवाली यसअघि नगर विकास कोषको कार्यकारी निर्देशक थिए। उनी परियोजना विकास, व्यवस्थापन र आधुनिक विकासका ज्ञाता मानिन्छन्।

गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि सरकारले कानुन बनाई प्राधिकरणको अवधारणा ल्याएको थियो। सुशील कोइराला नेतृत्व सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अघिल्लो वर्ष असार ६ मा अध्यादेश जारी गरी प्राधिकरणमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. गोविन्द पोखरेललाई उक्त जिम्मेवारी दिएको थियो। अध्यादेशको अवधि सकिएपछि प्राधिकरण निष्क्रिय बनेको थियो।

व्यवस्थापिका-संसद्ले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२ पारित गरी राष्ट्रपतिबाट जारी भएपछि सरकारले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो।

भूकम्पबाट मुलुकका १४ जिल्ला अति प्रभावित छन् भने ३१ जिल्ला प्रभावित छन्। भूकम्पका कारण आठ हजार ८९० जनाको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी नागरिक घाइते भएका थिए। सरकारले गरेको अध्ययनका क्रममा आठ लाखभन्दा बढी घर तथा आवास भत्किएको भेटिएको थियो। प्राधिकरणले सकारात्मक रुपमा काम अगाडि बढाउन नसक्दा भूकम्पपीडितको बिचल्ली भइरहेको छ।


 

More form the Internet

loading...